Saturday, January 31, 2015

बिर्सिन नसकेको मान्छे ( कथा )

बस हिड्न थाले पछी म आफ्नो आँखा चिम्लिदिन्छु लामो सास लिएर । एयरकन्डिसनर सुबिधा भएको बस अनि ठुलो सिट पाए पछी अलि लम्पसार भएर शरीरलाई खुल्ला छोड्न सजिलो हुन्छ साथै केहि आराम पनि मिल्छ । सहर छोड्दा छोड्दै तातिएको बस अब केहि सेलाउदै गएको महसुस हुँदै थियो । पहाडी यात्रा अनि साउन महिनाको मौसम, यस्तै आनन्द लिन भनी मैले सिसे झ्यालको एक फ्क्लेटोलाई कुना पट्टि सर्काई दिन्छु । एक मुठ्ठी चिसो बतास हुत्तिएर बसभित्र छिर्छ र मेरो मुहार चुम्न आई पुग्छ । कती शितल अनुभूति, टाउकोलाई पछाडी अढेस लगाएर राख्दै आँखा चिम्ली दिदा अझै आराम भएको अनुभूती हुन्छ । बस आफ्नो गन्तब्य तिर लम्किन थाल्छ । घुमाउरो पहाडी बाटोमा उकालो ओरालो गर्दा गर्दै केहि थाके जस्तो गर्छ पुरानो इन्जन भएको बसले ।
“आफु जस्तै बस पनि थाकेछ “ सोच्न साथ् मेरो ओठको मुस्कान झन् गहिरो भै दिन्छ ।
 सिसाबाट बाहिर देखिने आकासमा केहि बादलका टुक्राहरु हतार हतार यता उता गर्दै छन्  जसलाई बन्द नजरले देख्न सकिदैन तर अलिअलि उमस भए जस्तो हुन्छ आफैलाई , अचानक पानीका केहि बुँदहरु हात र मुहार छुन आउँछन र मैले नचाहेरै आँखा खोली दिन्छु । बाहिर हल्का हल्का बर्षात शुरु हुँदै छ, वरीपरीका दृश्यहरु रुझ्दैछन । हेर्दा हेर्दै बिस्तारै सडक अनि सडकका किनार रुझ्न थाल्छन । हेर्दा हेर्दै पानी जम्मा हुन थाल्छ सडकमा अनि ससाना धारहरु बनेर बग्न थाल्छन आफ्नो गन्तब्य भेट्न । यो झरीमा अतीत कठ्यान्ग्रीदैन । बरु हो पग्लिएर तरल भैदिन्छ  र स्मृतीभरी बग्न थाल्छ ।
 “ बसबाट ओर्लिएर यो झरीमा रुझ्न मन लाग्छ मलाई । आफुलाई कुनै मैलो कपडाहरु धोए झै गरी मिची मिची धून पखाल्न मन लाग्छ । मनहरु त कहाँ कहाँ भुलेनन र यसरि ? हामी एकै साथ यस्तै झरी रुझ्ने कयौ चाह नराखेका पनि हैनौ तर मनको चाह कहाँ पुरा होस् । कुनै बेला कयौ पटक हामी जानि नजानी संगै रुझेका पनि त छौ । बर्षौ भयो ....कती बर्ष ? समयको यो रफ्तारको हिसाब छैन ।