Saturday, January 31, 2015

बिर्सिन नसकेको मान्छे ( कथा )

बस हिड्न थाले पछी म आफ्नो आँखा चिम्लिदिन्छु लामो सास लिएर । एयरकन्डिसनर सुबिधा भएको बस अनि ठुलो सिट पाए पछी अलि लम्पसार भएर शरीरलाई खुल्ला छोड्न सजिलो हुन्छ साथै केहि आराम पनि मिल्छ । सहर छोड्दा छोड्दै तातिएको बस अब केहि सेलाउदै गएको महसुस हुँदै थियो । पहाडी यात्रा अनि साउन महिनाको मौसम, यस्तै आनन्द लिन भनी मैले सिसे झ्यालको एक फ्क्लेटोलाई कुना पट्टि सर्काई दिन्छु । एक मुठ्ठी चिसो बतास हुत्तिएर बसभित्र छिर्छ र मेरो मुहार चुम्न आई पुग्छ । कती शितल अनुभूति, टाउकोलाई पछाडी अढेस लगाएर राख्दै आँखा चिम्ली दिदा अझै आराम भएको अनुभूती हुन्छ । बस आफ्नो गन्तब्य तिर लम्किन थाल्छ । घुमाउरो पहाडी बाटोमा उकालो ओरालो गर्दा गर्दै केहि थाके जस्तो गर्छ पुरानो इन्जन भएको बसले ।
“आफु जस्तै बस पनि थाकेछ “ सोच्न साथ् मेरो ओठको मुस्कान झन् गहिरो भै दिन्छ ।
 सिसाबाट बाहिर देखिने आकासमा केहि बादलका टुक्राहरु हतार हतार यता उता गर्दै छन्  जसलाई बन्द नजरले देख्न सकिदैन तर अलिअलि उमस भए जस्तो हुन्छ आफैलाई , अचानक पानीका केहि बुँदहरु हात र मुहार छुन आउँछन र मैले नचाहेरै आँखा खोली दिन्छु । बाहिर हल्का हल्का बर्षात शुरु हुँदै छ, वरीपरीका दृश्यहरु रुझ्दैछन । हेर्दा हेर्दै बिस्तारै सडक अनि सडकका किनार रुझ्न थाल्छन । हेर्दा हेर्दै पानी जम्मा हुन थाल्छ सडकमा अनि ससाना धारहरु बनेर बग्न थाल्छन आफ्नो गन्तब्य भेट्न । यो झरीमा अतीत कठ्यान्ग्रीदैन । बरु हो पग्लिएर तरल भैदिन्छ  र स्मृतीभरी बग्न थाल्छ ।
 “ बसबाट ओर्लिएर यो झरीमा रुझ्न मन लाग्छ मलाई । आफुलाई कुनै मैलो कपडाहरु धोए झै गरी मिची मिची धून पखाल्न मन लाग्छ । मनहरु त कहाँ कहाँ भुलेनन र यसरि ? हामी एकै साथ यस्तै झरी रुझ्ने कयौ चाह नराखेका पनि हैनौ तर मनको चाह कहाँ पुरा होस् । कुनै बेला कयौ पटक हामी जानि नजानी संगै रुझेका पनि त छौ । बर्षौ भयो ....कती बर्ष ? समयको यो रफ्तारको हिसाब छैन ।

जीवनका यी लघु संकेतहरु एक भ्रम भएर बाँची रहें मनमा । त्यहि भ्रमहरुले हुत्याई दिंदा मनमा पलपल उग्र भै दिने अन्तर्मनको तुफान जसले मलाई लखतरान थकाई सकेको छ । मेरो तिमीसंगै हुने तपस्या जुन बर्षौ पहिले भङ्ग भै दियो तर मेरो चाहलाई मैले पलपल एक दृढ शक्तीले सिंचेर हुर्काई रहें । मैले बर्षौ पहिले तिम्रो सामु राखेको मेरो इच्छा अब एक्लै पुरा गर्ने एक गतिलो आशा लिएर निस्केकी म, गन्तब्य कसै भेट्नु छ मैले । यो यात्रामा निस्कने चाह दशकहरु खर्चेर मात्र भेट्टाउन सकिएको हो अहिले ।
हामी अलग अलग सहरबाट सहर छिरेका बिध्यार्थी थियौ कुनै दिन । दिनहुँ जसो हुने हाम्रो साइकल यात्रा । कहिले साईकल पिकनिक ,कहिले बजार, अनेक बहाना भेटिन्थ्यो । एकदिन हामी पढाई सकिए पछी साइकल ग्रुप बनाएर निस्कियौ बजार तिर । सधै झै पढाई सकिए पछिको आवरागर्दी सकेर हामी सबै साथीहरु छुट्टीदा छुट्टीदै तिमी र म बचेका थियौ । दुइ किलो मिटरको बाटोमा आधा भन्दा बढी सफर त सकीई सकेका थियौ । अचानक मलाई याद आयो तिम्रो कोठा त यता हैन फेरी तिमी किन मेरो बाटो पछ्याउदैछौ।
“तिम्रो घर त अर्को पट्टि पो ...भुल्यौ कि के हो बाटो ?” अचानक मैले सोधेकी थिएँ हाँस्दै ।
“ हैन , मलाई मेरी आन्टीको घरसम्म पुग्नु पर्ने छ आज त्यसैलेतिम्रो पछी लागेको“ तिमी मुस्काएका थियौ । आकासमा लुकामारी खेल्दै गरेका बादल अनि शितल बयली खेल्दै तिम्रो सुगन्ध मसम्म र मेरो सुबास तिमीसम्म पुर्याउन लागी परेको चंचल बतास । हामी बाटोमै हुँदा नै आकास उदास हुन थालेको थियो । केहि बेरमा नै बादलहरुले आफ्नो दुख बर्साई दिए हामी माथी ।
“मलाई झरीमा रुझ्न मन पर्छ ।“ मैले साईकल चलाउदै भनेकी थिएँ ।
“हो , मन मस्तिष्क भित्र देखि नै शिलत बनाई दिन्छ झरीले र त मलाई पनि मन पर्छ रुझ्न ।“ तिमी पनि रोकिन चाहेनौ कतै । मौसमले हामीलाई निथ्रुक्क रुझायो । म घरसम्म पुग्दा जाडो हुन थालेको थियो मलाई । तिमीलाई अझै पर पुग्न थियो । हामी छुट्टिएका थियौ संगै रुझेर त्यो दिन । संगै रुझेको त्यो अनुभूती अझै उस्तै छ यादहरुमा ।
 कती रुमानी दिन थिए ती दिनहरु । यसै गरी तिमी प्राय आन्टीको घर पुग्नु पर्ने भए पछी हाम्रो साथ् केहि बढ्न थालेको थियो । सफर एकै अनि साइकल यात्री बनेर रमाउने हामी..बाटो भरी नानाभाती गफ अनि कहिले बिबाद र बहस , कतै पढाईकै बिषय बस्तु त कहिँ अनेक जीवनका सिलसिलाहरु, साइकलका पाइडल संगसंगै गर्ने गर्थ्यौ । यो यात्रा संगसंगै हामी बीच एक मिठास उम्रिएको थियो । हाम्रो सामिप्यता यती सम्म कि तिमीलाई आन्टीको घर जान नपरे पनि हामी साथ हुन थाल्यौ । केहि महिनामा हामी साथी मात्र रहेनौ । त्यो यात्रा मै हाम्रो सम्बन्धले अरु नै नाम खोज्न थालेको थियो । समबन्धहरु किन यसरि मौलाउछन् कुन्नि । “ यीनै तरङ्गहरु बीच लामो यो यात्रालाई सजिलो पार्न बसकै सिटमा आफ्नो शरीरलाई फेरी तनक्क तन्काउँछु र बर्षौको थकान मेट्ने प्रयास गर्छु  । आकास रुन छाडेको थिएन । झ्यालको शिसामा पानीका थोपाहरुले अनेक आकृती कोर्दै थिए । जिन्दगीको लामो भोगाई पछी तर बर्षौ पहिले निर्धारित यो यात्रा .....यात्रा सकिए पछी तिमीसम्म पुग्ने गोरेटोको कल्पना अनि तिम्रो तस्विर ..मनभरी उमंग अनि उही सधै झैँ प्रश्न “के तिमी उस्तै छौ ?”
“ पढाई सकिदा सकिदै हामी दुवै मिलेर केहि सपनाहरु आफ्नो अङ्गालोमा समेटन सफल भएका थियौ । हाम्रो पढाई सकियो । गाउँ फर्क अभियान शुरु भयो । हामीले जीवनका अनेक तानाबानाहरुलाई नयाँ स्वरूप दिने पक्का बाँचाको बन्धन तयार गर्यौ र पछाडी मोडीयौ । हामी परिक्षाफल लिन सहर छिर्दा फेरी केहि दिनको साथ् बढ्यो । अब अर्को योजना जागिर खोज्ने, भविष्य बनाउने अनि मात्र जीवन बारे सोच्न सकिएला । हामी दुबैको सोच कतै एक आपसमै ठोक्कीन्थे भने कतै एकै ठाउँमा आउनै नसक्ने पनि थिए । म बडो गजबले हाँस्थे जहाँ हाम्रा सोचहरु एक आपसमा भिडथे । हामीले दुबैले त्यो बेला एकै सोचमा हस्ताक्षर गरेका थियौ । आफ्नो खुट्टामा उभिने भनेर ।
त्यो बेला देखिको तिम्रो गाउँ छिर्ने मेरो रहर आज बर्षौ पछी पुरा गर्ने दुस्साहस गर्दै थिएँ मैले । कल्पनामा तिम्रा गहिरा आँखा, तिम्रो नाम अनि मुस्कान थियो । यसरी यो रहर लम्बिनुमा को जिम्मेबार थियो ? तिमी , म या समय ? “ बाहिरको तेज हावाको झोकाले बसको माथी पट्टिको शिसाको झ्याल खोलिदिन्छ । चिसो हावा अनि पानीको थोपाले झस्काउँदा नमिठो लाग्छ मलाई । झस्किदा नमिठो लागे पनि नरम चिसो बतासले छुँदा मन सहज हुन्छ उत्ति नै बेला ।
यो झरी कती बेर पर्ने हो खै ? मेरो यात्रा छोट्टीदै छ ।
मलाई ती यादहरुसंगै जिउने बानी लागी सकेको छ । त्यो झरीको यादले काउकुती लगाउँछ फेरी । आज पनि तिमी सम्म पुग्दा उस्तै रुझ्नु पर्ने हो त म । “
अब एक घन्टाको यात्रा बाँकि छ” केहि बेर अघि सोध्दा ड्राईभरले जबाब दिएका थिए ।
“ तिमी गाउँ गएर फेरी राजधानी गयौ जागिर खोज्न भनेर । म मेरो गाउँको एउटा स्कुलमा शिक्षक हुन पुगे । केहि महिना सम्पर्क बिहिन जस्तै रह्यौ । पछी तिमीले जागिरको खोजमा पुर्व पुगेको खबर पठायौ । सिलसिला चली रहे बेखबर खबरहरुको । सम्पर्कमा नरहँदा पनि बिस्वास थियो मनमा । अचानक तिम्रो साथीले तिम्रो बिहेको खबर दिए । म मेरै बिस्वासमा अल्झिएँ । म खबरहरु देखि अन्जान थिएँ, मन नमिठो गरी बिथोलियो । निस्सासिए अनि भौतारिए यथार्थ पाउन तर समय मेरो बिरोधमा उभ्भियो त्यो बेला । निकै कोशिस पछी हाम्रो भेट् भयो । बिहेको कुरो साँचो थियो । त्यस पछी धेरै जान्न चाहिन मैले । तिमीले सम्झाउने प्रयास गरी रह्यौ । म मौन रहे । म भित्र मेरै कयौ टुक्राहरु म महसुस गर्न सक्थे जुन तिमीले कसरी गर्न सक्थ्यो ? तिमीले सम्बन्धलाई नबुझेको,बुझ्न नसकेको मेरो आरोप सायद गलत थिएन । हो अवसरबादी मैले भन्न नहुने थियो । तिमीले आफ्नो बिबाहलाई जीवनमा अगाडी बढ्ने एउटा अवसर मान्यौ या मानेनौ तर मैले लगाएको मेरो आरोपमा खेद छ मलाई । त्यति बेलाको त्यो रोष र आवेश गलत पनि थिएन । मैले मेरो गर्भमा सुसुप्त हुर्काई रहेका मेरा सपनाहरु गर्भमै तुहिएका थिए  । यी दशकहरु पछी आएर हेर्दा मलाई लाग्छ ती सपना नाजायज थिए र तुहिएका होलान । नाजायज यो अर्थमा की “ती मेरा मात्र सपना थिए “ । दुबैको एकै सपना हुँदो हो त साकार हुन्थ्यो कि ।“ सडक उकालो भएछ सायद । बस थाकेको झै गरी उस्तै कन्कनाउदै उक्लिदै हुन्छ फेरी र कहराउदै थकान चुहाई दिन खोज्छ आफ्नो उमेरको । झ्याल बाहिरबाट नागबेली सडक अनि वरपर फैलिईदै मसिना धारहरु बनाएर खोल्सामा खस्दै गरेका हिलो, मैलो पानीका दृश्यहरु मोहक थिए ।“
म उत्सुकतापुर्वक बाहिर हेर्न थाल्छु “ मानौ नजरले कसैलाई खोज्दै छ “। अनेक दृश्य अनि पहाडको मन्द बतास निल्दै गर्दा केहि सोचहरु मनमा आउँछन् ।
अचानक मेरो आँखामा अनौठो आशा चम्किन थाल्छ । मनमा मिठो लहर उठ्छ । बस तिम्रो बस्तीको बाटो मोडीएको थियो । मेरो आँखा तिमीले पढेको गाउँको स्कुल भवनमा पर्छ । तिम्रो स्कुल भनेर चिन्न कत्ति कठिन भएन मलाई । स्कुलको नाम तिमीले भनेका थियौ मलाई कलेजमा पढ्दा । हो स्कुलको भवन तिमीले बयान गरेको भन्दा फरक थियो अहिले । मलाई मैले केहि भेट्टाए झैँ खुशी लाग्छ ।
“हाम्रो भेटमा हामी बीच निकै बिबाद भएको थियो । सच्चाई र झुटहरुलाई लिएर, बिस्वास र घातलाई लिएर मैले बहस निकै लम्ब्याई दिएकी थिएँ । तिमी धेरै कम बोल्यौ या भनुँ मैले बोल्नै दिईन । सायद मैले तिमीलाई सुन्नु पर्ने थियो , जस्तो लाग्छ अहिले । सुन्न चाहिन त्यो बेला र सुनेर पनि के गर्न सक्थे र म । बादीलाई बोल्ने मौका दिइन्छ नि हैन र ? तर मैले सहन नसक्नु मेरो कमजोरी थिएन । म सम्झौता चाहदिन थिएँ ।
जब दुवै तर्फको सोच, विचार अनि समबन्धको सतह बराबर हुन सकेन एक ढिस्को बनेर रह्यो भावना हामी बिचमा । म अन्तिम बिदा मागेर निस्केकी थिएँ र पछाडी फर्केर हेरिन पनि । मन निकै कुडिएको थियो अमिलो यथार्थले । आखिर म एक नारी थिएँ धर्तीको नामले चिनिने । कयौ रहस्य लुकाएर जिउन सक्ने आफ्नो एकै आकृतीमा । मैले आफुलाई यसरि नै जिउन सिकाएं, चुपचाप चोटहरुको नशा पिएर ।
सुनेको थिएँ तिमी रोजगारीको लागी विदेश पलायन भयौ भनेर । मेरो मौनताले सम्बन्धहरुलाई चिस्याउदै लग्यो । तिमीलाई पनि कुनै चाँसो थिएन सायद र मेरो मौनतालाई स्विकार गर्यौ । हामी बर्षौ देखि पालेको साथलाई एक पलमा हत्या गरेर आ आफ्नो बाटो लाग्यौ । तिमीले मेरो खबर लियौ लिएनौ तर मैले पाई रहें, खोजी रहें ।
 कास ! एक पटक बोलाउथ्यौ मलाई । सायद म आफुलाई रोक्न सक्ने थिइन । मनमा यस्तै यस्तै कुरा आइ रह्यो । हामी बीच साथित्व त बाँच्न पाउथ्यो कि ? तर यो नियती थियो या मेरो स्वाभिमान मैले केहि गर्न सकिन । सायद स्वाभाविक नै थियो कि । प्रश्नहरु बितेका बर्षहरुमा यस्तै उचालिदै पछारिदै बेदना पोखी रहे मनसंग । बितेका बर्षहरुमा कयौ पटक समयको रापमा मेरो प्रेम जली रह्यो,कतै बेहद कठोर पनि बन्यो, कहिले जुनको उज्यालोमा नुहाएर चोखियो त कयौ रातहरुमा सन्नाटाहरुको सुमधुर संगीतमा एक्लै नाची रह्यो । यसरि मेरो प्रेमले अनेक नयाँ रुपको साक्षात्कार गरी रह्यो समयसँग हिड्दा हिड्दै र झन् झन् खारिएर चम्किलो हुँदै गयो । “
म मनका तरङ्गहरुमा यसरि अल्झीएछु कि बस रोकिएको थाहा नै पाइन । “आमै ! निदाउनु भयो कि के हो ?” बस कै फुच्चे केटोले आवाज दिदा पो झसङ्ग झस्किन्छु अनि मुस्काई दिन्छु अधुरो मुस्कान । एक पटक लामो सास भित्रसम्म तान्छु र बसबाट ओर्लिन्छु । मुटुको धड्कन अचानक बढ्न थाल्छ अदिप्त अनुभूतीसंगै । लाग्छ म कुनै यौवनको त्यो चरणमा छु जहाँ कल्पनाले नै धड्कनहरुलाई अनयासै उचाली दिन्छ ।
“तिमीले भनेका थियौ धेरै अघि हिडेर पुग्नु पर्छ तिम्रो घर तर अब धेरै हिड्न नपर्ने भै सकेको छ । सायद केहि बेरमा नै पुग्छु होला पैदल नै । शरीर केहि काँपे झैं हुन्छ । चिसोले या तिमीलाई नियाँल्न पाउने उमङ्गले थाहा छैन । झिसमिसे उज्यालोमा दिनभरि रुझेको साँझको रुप निकै खुलेको थियो । रुझेको माटोको सुगन्ध बातावरण भरी फैलिएर आनन्दित बनाएको थियो । तिमीले बल्यास्था देखि युवास्था सम्म टेकेको यो माटो टेक्ने ..माटोमा तिम्रा पैतालाका डोबहरु खोज्ने,चिन्ने ..तिम्रा दौतरी भेट्ने ...तिमी खेलेको चौतारीमा सुस्ताउने ..तिमीले उकाली ओराली गरेका गोरेटाहरु पछ्याउने, यस्तै रहरहरु गर्थे मैले र तिम्रो सामु पोख्थे म । तर तिम्रो अनुमती बिना आज एक रहर तिम्रो सेरोफेरो टेक्न पाउँदा पनि कम्ता हर्षित छैन म । चारै तिर हेर्छु । धुमिल धुमिल हुँदा पनि  दृश्यहरु वारी देखि पारी सम्म स्पष्ट देखिन्छन । म सुस्ताउन भनि तिम्रो त्यो चौतारी खोज्छु जहाँ तिमी आफ्ना दौतरीहरुसंग लुकामारी खेल्थ्यौ । नजरले भेट्दैन... के नजर कम्जोर भएर हो या तिमी र म जस्तै त्यो चौतारीले पनि रङ्ग फेर्यो ? कि यो परिवर्तित समयले बिकासको फूल फुलायो र त्यो जिवन्त भाग्नावषेश मेटेर इतिहास बनायो । पक्कै यो समयको क्रुरता होला या मेरो दुर्भाग्य मैले समय अघि लागेको बुझ्न सकिन । म उही पुरानो तलाशमा हिड्नु मुर्खता हैन त ?  अहिले त तिमी म बीच यो समाज , यो दुनियाले कती कायदा र कानूनहरु थप गरेको छ तर पनि त्यो जमानाको मन मस्ती, मर्जी जिम्मेबारी खै के के थिएँ लाई सुसुप्त सुमसुम्याएर गरिएको दुस्साहस हो मेरो । बाटो भुले कि भनी सडक किनार हिड्दै गरेका पैदल एक नवयुवकलाई तिम्रो नाम लिएर फेरी सोधे । तिम्रो नाम सोध्दा मेरो मुहार रक्तिम भयो भएन मलाई थाहा भएन तर मनमा काउकुती लागेको हो । त्यसै बेला म आफैसंग लजाएकी थिएँ । यो उमेरमा पनि नयन मदहोस भै दिएका थिएँ प्रेमको नशाले ।
अचानक आकासमा इन्द्रेणी देखिन्छ डाँडाबाट निस्केर । रङ्गीन आकाससंगै पानीका बबाछिंटाले मेरो अङ्ग प्रत्यङ्ग जलाउन थाल्छन फेरी । घामपानीमा देखिने इन्द्रेणी....मेरो जीवनको कयौ अध्याय मिसिन्छन त्यसैमा । म तिम्रो घरको अगाडी छु । हल्का पहेंलो रङ्गको शर्ट अनि कालो हापपेन्टमा तिमी आँगनमा के के गर्दै हुन्छौ । उस्तै शरीर ..उस्तै ..सबै उस्तै । अलि पर उनि देखा पर्छिन ....पहिलो पटक देख्दै छु तिम्रो जीवन ..जीवन संगिनीलाई ...उस्तै तिमीले सोचे जस्तै सायद  ..। तिमीहरु बीच कुनै सम्बाद चल्दै हुन्छ ..जुन म अलि सुन्न सक्दिन । जीवनका अनेक घटनाक्रम बीच मलाई त्यहि पहिलो झरी अनि साइकल यात्रा किन याद आउँछ । त्यो उमेर , त्यो समय ..दिन हप्ता महिना बर्ष हुँदै बर्षौ भै सके । के यहि मात्र थियो र मेरो जीवनको महत्वपूर्ण अनि अनमोल पल ?
तिमीलाई सायद आभाष हुन्छ तिम्रो दैलोमा कुनै यात्री आएको छ या साँझको कुनै पाहुना पो हो । नजर उठाउछौ तर अपरिचित ।
 म मुस्काउँछु “मलाई चिनेनौ “ को भावमा ? तिम्रा पाइला मतिर बढ्छन नजरमा अन्यौलता बोकेर ।
“निलिमा “ मेरो अलि नजिक आए पछी मात्र तिम्रो ओठ थर्थाराउँछन् । तिम्री जीवनसंगिनीले म तिर कुनै ध्यान दिन्नन र घर भित्र छिर्छिन ।
रेतका चम्किला कणहरु जस्तै खुशी, समेट्न खोज्दा खोज्दै जिन्दगीको एक लामो अध्याय सकिन्छ । मैले अन्जुलीमा समेटेका यादहरु पनि कहिले त निकै निष्ठुरी पनि भै दिए । म समयको लहरहरुमा डुब्दै, कहाँ कहाँ पुगे तर हातहरु अझै खाली छन् । मेरो कपाल बीच बिचमा फुलेर सेता धर्साहरु भै दिंदा मैले तिमीलाई धेरै पटक सम्झिदै कपाललाई रङ्गाई रहें ।
पश्चिमको गगनको अङ्गालो आफ्नो थाकन मेट्न सूर्य जती आतुर देखिन्छ उस्तै मलाई हतार भएको छ तिम्रो बाहुपासमा निदाउँन ।
म एक फकिर झैँ ,झरीमा निथ्रुक्क रुझेर अन्तिम इच्छामा भिक्षा स्वरूप तिम्रो दर्शन गर्न उभ्भिएकी छु उमेरको पैसठ्ठीयौ बर्षमा तिम्रो सामु । आउँ , समेट मलाई अनि बिदा देउ ।

निर्मला खड्का

गीती कथा सुन्नको लागी  

No comments:

Post a Comment