निला आँखा (कथा )
-
निर्मला खड्का
सानै देखि
उपन्यास ,कथा र कबिताका किताबहरु पढ्ने
बानी रह्यो ।
नीला आँखा हुने
मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरुमा
पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा
हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न
सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र
हुँदैनन् भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको
नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला
आँखा भएका मान्छे भेट्नु नै कहाँ ?
काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश
पुगियो । अब भने निला ,काला,खैरा अनि हरिया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचय र मित्रता संगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन ।
यसरी नै मध्य पश्चिममा मेरो भेट भएको थियो
जोसेफसंग । आर्थिकोपार्जनका खातिर भौतारिएरा अनेक हण्डर खादै ठुलो
सपना बोकेका हामी चार दक्षिणपूर्वीय युवतीहरु मध्यपश्चिममा ठोक्किन पुगी जोसेफको
अपार्टमेन्ट सामुन्नेको अपार्टमेन्टमा बस्ने गर्थ्यौ |आमुन्ने सामुन्ने अपार्टमेन्ट हुनाले देखा देख भै नै रहन्थ्यो । पहिला मैले ऊ प्रती त्यति ध्यान दिएकी थिईन तर कयौं पटकको देखादेख पछि आक्कल झुक्कल हाइ-हेल्लो हुन थाल्यो ।
एकदिन हाम्रो बिदाको दिन थ्यो । कोठामा कती बसी राख्नु भनेर हामी चारै जना साथीहरु
बाहिर निस्कियौ । झिसमिस साँझले शहरको बातावरण निकै मनमोहक बनाएको थियो । हामीले
पैदल हिड्दै त्यहि नजिकको एउटा गार्डेनलाइ आफ्नो गन्तब्य बनाउने निश्चय गर्यौ । गर्मी दिनको साँझ भएर होला पार्क भरि भराउ
थियो । हामी पार्कमा पुगेर हरियो दुबो माथि थचक्क बसेर बिबिध कुराहरु गर्दै मनोरंजीत हुन शुरु गर्यौं ।
"हाइ गर्ल्स"
अपेक्षा नै नगरिएको आवाजले हामीलाई
झस्क्यायो |
"हेई"। हामी
पनि के कम जवाफ फर्काइ हाल्यौ । सामुन्ने जोसेफ थियो ।
"म यहाँ तिमीहरु
संग बस्न सक्छु"? उसले बिस्तारै
सोध्यो ।
"पक्कै पनि"
हामीले स्विकृती दियौ । ऊ हामीसंग बसेर गफमा गफ मिलाउन थाल्यो । तर ऊ अली लजालु किसिमको कम बोल्ने युवक जस्तो मानें मैले पहिलो भेटको
कुराकानीमा किनकी ऊ हामीसंग बस्न भनेर त आयो तर अपेक्षाकृत हामी भन्दा
धेरै कम बोल्यो । सामान्यतया यताउताको कुरा संगै हामीहरु कुन देशबाट आएका? तिमीहरुलाई युरोप कस्तो लाग्दैछ? या यहाँका मान्छे कस्ता भेट्यौ ?आदि इत्यादी कुरामा नै समाप्त भयो । हुन् त हामी चार चार जनाको ग्याङ्ग थियौ
अनि ऊ एक्लो भएर पो हो कि ? त्यो दिन हामी
लगभग तीन घण्टा सम्म संगै बसेर संगसंगै आ-आफ्नो गुड तिर फर्कियौ । यहि नै जोसेफ
संगको पहिलो समय थियो मेरो ।
जोसेफ गोरो,
अग्लो, साधारण फिगर तर नीलो आँखाको धनी थियो त्यसैले उसलाइ देख्न बित्तिकै मेरो
दिमागमा उही बर्षौ अघि पढेको कथाको पात्र र धोकेबाज शब्द झल्यास आइ हाल्थ्यो ।
मैले साथीहरुलाई पनि भने मैले कथामा पढेको कुरा साथै जोसेफको निलो आँखाको बारेमा
रहेको मेरो धारणा । उनीहरुले हाँसेरै उडाउन थाले । कथाको कुरा लिएर अब सबैलाई
धोकेबाज नै सोचेर बसिरहेस् पनि भने । मैले त्यो कथा सत्य कथामा पढेको सत्य
घटना थियो भनेर उनीहरुलाई भने आफ्नो कुरा राखे । उनीहरु झन् हाँस्न थाले पछी म चुप
हुनु शिवाय कुनै उपाय थिएन । हामी चारै जनाको भेट यहि भएको थियो । हामी अलग अलग
तरिकाबाट यहाँ आए पनि उद्धेश्य एउटै पैसा कमाउने थियो र केहि महिना देखि यो
अपार्टमेन्टमा संगै बस्न थालेका थियौ । कहिले कहिँ कामको अवस्थाले गर्दा एक्ला एक्लै पनि हुनु पर्थ्यो कोठामा | यदाकदा चारै
जनाको बिदा संगै पर्दा बाहिर निस्कने गर्थ्यौ अन्यथा उहि कोठा र काम नै हुन्थ्यो
हाम्रो नियमित रुटिन । जानु
आउनु पनि कहाँ यो पराई भूमीमा । समयको आफ्नै बहाव , बग्दै थियो । हामी समयका प्यादा नाचीदै थियौ उसकै
इशारामा । जोसेफ संग हाम्रो मित्रता झन् झन् गहिरो हुदै गयो । ऊ शान्त तर रमाइलो
मान्छे थियो । हामी संग संगै हिड्दा बोल्दा दुइ चार नेपाली शब्द पनि सिकी सकेको
थियो । “म तिमीलाई माया गर्छु”
“तिमीलाई कस्तो छ “ ‘राम्रो “ ‘नराम्रो “
यस्ता यस्तै सामान्य शब्दहरु । ऊ सोद्थ्यो अनि
हामीले सिकाउथ्यौ ।
“अब आउने दिनमा
तिमीहरु चारै जनाको बिदा कहिले छ?” एकदिन अचानक उसले
सोध्यो । हाम्रो बिदाको सेरोफेरो नमिल्ने हुनाले सोधेको हुनु पर्छ उसले ।
“आउने आइतबार “। एकजना साथीले भनिन ।
“उसो भए यो आइतबार
तिमीहरु सबै जना मेरो घरमा डिनर आउने है ।“उसले भन्यो । हाम्रो पनि खासै प्लान केहि थिएन । फेरी ऊ संग भेटे देखिको अवधि
लगभग एक बर्षको हुन् लागी सकेको थ्यो र कयौं पटक हामी उस्को अपार्टमेन्ट गएर खान
खाएका थियौ र ऊ पनि हाम्रोमा आएको थियो ।
“हुन्छ नि “तर केहि खास छ र जोसेफ? मैले सोधिहाले ।
“खास केहि हैन तर
मेरो भाइ र बहिनि पनि आउने भनेका छन् त्यसैले तिमीहरु संग भेटाउ भनेर हो । अनि
थाहा छ मैले तिमीहरुको बारेमा सधै कुरा गर्छु । त्यसैले उनीहरु पनि भेटन खोज्दै
छन्” उसले जवाफ दियो ।
“ओह्ह, ठिकै छ बरु केहि सहयोग चाहिन्छ भने भन्नु है”
मैले औपचारिकता निभाए ।
“हैन खासै नपर्ला,
परेमा भनिहल्छु नि” उसले भन्यो।
आइतबार साँझ ऊ
आफै आयो बोलाउन । हामी पनि तयारी गर्दै थियौ । सोध्यौं को को आ’को छ भनेर । बहिनी-ज्वाईं दुइ जना भाइ र दुइ जना भान्जी गरी छ जना
छन् भनेर जवाफ दियो ।
अलि अलि ‘अड’ लागे पनि चार चार जना छौ भनेर हिम्मत गर्दै हामी ऊ संग गयौ
। जोसेफलाइ पो नजिक बाट चिनेका थियौ र साथी जस्तै भएका थियौ । उस्को परिवार कस्ता
होलान् ? आखिर खैरे त हुन्
। कती घमण्डी हुन्छन कोइ-कोइ त । यस्तै यस्तै विचार एक आपसमा पोख्दै हामी
उस्को कोठामा छिर्यौ ।
हाई गाइज़ “ एक मोटो लोग्ने मान्छे अगाडी आएर हात मिलायो सबै संग । ऊ जोसेफको भाइ रहेछ ।
जोसेफले सबैसंग
परिचय गरायो । हामीपनि मुस्काउदै लाज मान्दै उनीहरु संगै बस्यौ ।
“तिमीहरुको कुरा
गरी रहन्छ दाइले, तिमीहरुको
आपसी समन्वय र मिलनसार पनको ।
‘कस्तो लागि रहेछ तिमीहरुलाई यहाँ आएर?’ उसकी बहिनी येप्पीले कुरा शुरु गरिन् |
‘कस्तो लागि रहेछ तिमीहरुलाई यहाँ आएर?’ उसकी बहिनी येप्पीले कुरा शुरु गरिन् |
“ हो ऊ पनि मिलनसार
छ त्यसैले त हामी अर्कै मुलुककालाइ पनि माया गरेर साथी सम्झन्छ अनि सहयोग गर्छ ”
मेरी एकजना साथीले कुरा थपिन् । कुराका सिलसिला चल्दैरहे । खानपिन् पनि चल्दैरह्यो । जोसेफ
खाना पकाउन पनि निकै सिपालु रहेछ र ऊ भान्छामा काम गर्न पनि मन
पराउने हुनाले सबै खानपिनको ब्यबस्था आफै गरेको रहेछ । उसकी
बहिनीले कुरा गर्दागर्दै दाजुको प्रशंसा गर्दै भनेकी थिइन् । उसकी बहिनीसङ्गको सामिप्यता बढ्यो त्यो दिन । मेरो फोन नम्बर मागिन् उनले । मैले बोलाउदा हाम्रो पनि आउनु पर्छ है भन्दै अग्रिम बुक गरिन हामीलाई
उनको पाहुना हुनका लागी । हामी पनि उस्को फरासिलोपनले प्रभावित भैसकेका थियौ
त्यसैले “हुन्छ” भन्न पछी परेनौ ।
दिन आफ्नै रफ्तारमा बग्दै गयो । दिनचर्या
उस्तै थियो । जोसेफ र हाम्रो मित्रता झन् झन् गहिरो हुदै थियो । हामी उसको बहिनीको घर पनि निम्तो मान्न गयौ ।
निक्कै रमाइलो संग त्यो साँझ बितेको थियो । यस्तै नयाँ बर्ष २0११ को “न्यु ईयर ईव” उनीहरु संगै
बिताएका थियौ । जोसेफ र उसकी बहिनीले धेरै आग्रह गरेर हामीलाई बोलाएका थिए । उसको
परीवार संगसंगै उनीहरूकी बुढी आमालाई पनि भेटेका थियौ । धेरै मिलनसार
परिवार थियो जोसेफको । त्यो न्यु ईयर ईव हामीले जोसेफको आमाको घरमा
मनाएका थियौ । त्यो रात हामी त्यहि बस्यौ । । जोसेफको परिवारका सबै सदस्यहरु जम्मा भएका थिए । त्यो रात सबै जना गरी हामी लगभग ३५ जना जति थियौं होला । कहिले तास खेल्दै, कहिले हल्का म्युजिक लगाएर झुम्दै , कहिले उनीहरु इंगलिस गीत गाउदै र हामी नेपाली गीत गाउँदै
त्यो रात निक्कै मधुर वातावारणमा रम्दै बितेको थियो ।
“रोज, मलाई तिमीसंग केहि कुरा गर्न छ’ । ‘तिमी समय दिन तयार छौ भने हामी भित्र बसेर एकछिन् कुरा गरौ न “अचानक एप्पीले मलाई सोधिन । मेरो नाम रोजिना भएकोले प्राय
साथीहरु सबैले रोज नै भन्ने गर्थे ।
“हुन्छ “मैले सामान्य मुद्रामा उनलाई जवाफ फर्काएँ । हामी भित्र कोठामा गयौ । उनले आफ्नी आमाको सबै घर देखाउदै
मलाई सम्पूर्ण घरको जानकारी गराईन् । हामी दुइ कुरा गर्दै उनकी आमाको कोठा भित्र
छिर्यौ । घर निक्कै ठुलो नै थियो ।
बस ! “एप्पीले कोठाको कुनामा राखेको सोफातिर देखाउदै भनिन् र आफु पनि बसिन् ।
रोज, “मैले अब गर्न लागेका कुराहरु मार्फत तिमीलाई सम्झाउन सक्छु या सक्दिन थाहा छैन तर
तिमीले मलाई बुझ्ने प्रायश गर्नु है “एप्पिले नम्र भाषामा भनिन् । म असहज् महसुस गर्दै थिए किनकी उनको यो अनौठो पाराले कुरो शुरुवातको केहि तात्पर्य बुझ्न सकेकी थिइन ।
“मैले सक्दो
प्रयाश गर्ने छु एप्पी बरु के कुरा हो भन न |“ मैले भने । कता कता
मलाई अब मनमा खुल्दुली हुन लागी सकेको थियो । म हतारिनु र डराउनु दुवै एकैपटक भएको महसुश गर्दै थिएँ |
रोज “ मैले मेरो दाजु जोसेफको कुरा गर्न चाहेको तिमीसंग । उसले तिमीलाई धेरै
माया गर्छ । उसले मलाई तिमीसंग कुरा राख भनेको त हैन तर तिम्रो बारेमा उसले म संग
गरेको कुराको आधारमा मैले सुटुक्क तिमीलाई बुझ्न मात्र खोजेको हो । तिमीले अन्यथा
पनि नलिनु है यो कुरालाई । उ साह्रै लजालु किसिमको छ सानै देखि । म तिमीसंग कुनै
कुरा लुकाउदिन । जोसेफको बिहे भएको थियो र ऊ अहिले पारपाचुके हो । उसको एउटा छोरा पनि छ ११ बर्षको र उसको आमा संग बस्छ ।
मेरो दाइ ४० बर्षको भयो । जागीरे छ र राम्रो कमाउछ । तिमीलाई मैले यो सबै कुरा
एउटा साथी जस्तै सोचेर भन्दैछु । जोसेफले तिमीलाई धेरै माया गर्छ भन्ने कुरा मैले
उसको हाउभाउ बाट बुझें । उसले तिम्रो कुरा गर्न रुचाउछ । म संग तिम्रा धेरै धेरै
कुरा गर्छ र भन्छ “कती साधारण अनि
कती स्वच्छ भावना छ रोजमा”। माया त हो नि
यो , हैंन र ? उसकी पत्नी “ लिली” धेरै
महत्वकांक्षी भएर नै यिनीहरु अलग भएका हुन् । जोसेफ साधारण छ । म जोसेफलाई माया गर्छु । उ जस्तो मान्छे धेरै कम हुन्छन ।
उ मेरो दाइ हो त्यसैले मैले प्रशंशा गर्दै छु भनेर नसोच्नु नि । तिमीहरुले उसलाई
चिनेको पनि त दुइ बर्ष हुन् लाग्यो ।“ उनले मेरो हात आफ्नो हातमा लिएर लगातार बोल्दै गईन । म अवाक् भएर उनको मुहार
हेरी रहे । कल्पनै नगरेको अवस्थामा थिए म । कयौं पटक जोसेफले “म तिमीलाई माया गर्छु “ भनेको कुरा झल्झली याद आउँन थाल्यो । उसको गहिरो निलो
आँखाहरु उस्तै मेरो सामु नाच्न थाल्यो । मैले त्यती बेला के सोचेकी भने उ नेपाली
सिक्ने रहर गरेर बोल्दै छ यी शब्दहरु । पक्कै पनि जोसेफमा कुनै कमि थिएन । हामीले
लगभग दुई बर्ष देखि उसको संगत गरेका थियौ । कुनै दिन उसको ब्यबहारमा नमिठोपन
देखिएन । कहिल्यै कुनै नराम्रो संगतमा भेट्टिएन । यसरी
उनकी बहिनीले कुरा राख्दा मलाई पूर्वीय सभ्यताको आभास
दिलाएको थियो । साँच्चै यो पश्चिमको माहौल भए पनि उसको परीवारमा मैले पूर्वेली
सुगन्ध पाएकी थिए ।
“सरी रोज, मैले तिम्रो मन दुखाएं कि?” मलाई सोचमग्न र मौन देखेर एप्पीले
मलाई झस्काइन् ।
“हैन एप्पी,
मैले यस बारेमा कल्पनै नगरेको भएर अल्मलिएको
मात्र । एप्पी म दक्षिणपूर्वको एउटा गरीब देश अनि गरीब परिवारमा
जन्मेकी छोरी हुँ । म संग मेरो परिवारका धेरै सपनाहरु जोडिएका छन्
। मैले यी सबै कुराहरुमा ध्यान सम्म दिन पाएकी छैन । मैले यस्तो सोच र नज़रले
जोसेफलाइ हेरेकै छैन । म यसबारे केहि भन्न सक्दिन अहिले । मलाई माफ गर “म अलि सामान्य हुदै भने तर मेरो बोलीमा पक्कै
पनि खरोपन् थियो या जोसेफ प्रती कुनै चाह नरहेको अभिब्यक्ती मेरो
रुखोपनमा घोलिएको थियो ।
“अरे! यसमा माफी
माग्ने के कुरा भो ? मैले तिमीलाई
बुझ्छु रोज । मैले तिम्रो सामु दाइको कुरा मात्र राखेकी हुँ । चाहेको सबै कहाँ
पुग्छ र ? मैले दाईलाई पनि केहि
भन्न सक्दिन तर हल्का रूपमा उसलाई तिम्रो विचार प्रष्ट पार्ने छु । तिम्रो विचार
बुझे पछी उ त्यत्ती एकोहोरो पनि नहोला । तर तिम्रो मेरो बीच भएको कुरा उसलाई अहिले
भन्दिन फेरी उसको के इच्छा छ हामीलाई थाहा पनि त छैन । मैले त तिमी प्रति उसको लगाव महसुस गरेर तिमीसंग कुरा राखेकी मात्र हुँ । तिमी ढुक्क हुनु है “ कती सुल्झिएको विचार पोखेकी थिइन् उनले त्यस बेला । भोलिपल्ट
साँझ हामी फर्कने बेलामा जोसेफकी आमाले फेरी पनि आउनु है भनेकी थिइन् ।
जोसेफको
परिवारसंग भेटेर आए पछी म अलि कम बोल्न थालेकी थिए उ संग । किन किन मनभित्र उकुस
मुकुस हुन् थालेको थियो । म अलि चुपचाप भएको साथीहरुले महसुस गरेछन ।
“हैन, किन आजभोली त कम बोल्न थालेकी छस “ भनेर उषाले सोधिन् एकदिन ।
मैले जवाफ दिनै
सकिन । मेरा सोचहरु उही नीलो आँखामा डुबी रहन थालेका थिए । मैले जोसेफलाइ कहिल्यै प्रेमिल नज़रले
हेरेकै थिइन् । एप्पीले पक्कै पनि भनिन् होला मेरो कुरा
जोसेफलाइ भन्ने कुरा मन मस्तिष्कमा सल्बलाउथ्यो । तर उसको ब्यबहारमा कुनै फरक
देखिन्नथ्यो । उस्तै हँसिलो रसिलो अनि उस्तै साधारण ।
दिन रात अनि
निरन्तर समयको बेग संगै केहि महिना बित्यो । यहाँ आएको तीन बर्षमा उषाले अचानक
नेपाल जाने निर्णय गरीन् र नेपाल फर्किंईन । हामी अब कोठामा तीन जना
मात्र थियौ र हाम्रो उस्तै दिनचर्या थियो ।
“रोज , आज बिहान आमाको मृत्यु भयो “ एक दिन दिउँसोतिर अचानक एप्पीको
फोन आयो । दु:ख प्रशस्त थियो उनको रुझेको आवजमा । भोलि साँझ
पाँच बजे अन्तिम बिदाईको समय तोकिएको छ । मिल्यो भने आउँ है “ उनले आग्रह गरिन । मैले सान्त्वनाका केहि शब्द
संगै म बिदा मिल्यो भने आउंने छु भने । रश्मि र अनुलाई पनि भने जोसेफको आमाको
बारेमा साथै एप्पीको कुरा पनि । भोलि काममा गएर मिलाउन सकियो भने निस्केर संगै
भेट्न जाने सल्लाह भयो हाम्रो । अर्को दिन हामी त्यहाँ पुग्दा सात बजेको थियो ।
त्यसै बखत मैले जोसेफकि पत्नी “लिली “लाई भेटेकी थिए । एप्पिले नै परिचय गराएकी
थिइन् र उनलाई चिन्ने मौका पाएकी थिए । निक्कै सुन्दर थिइन् उनी।
समय लम्किदै फेरी
केहि महिना अगाडी पुग्यो । हामी जहीं त्यहि थियौ तर अनु दुइ महिना पछी अमेरिका जाने
भईन । हामी फेरी घट्दै थियौ । उनी जानुमा कहिँ खुशी र कहिँ छुट्टिनुको पिडा
मिश्रीत थियो हामी दुइ म र रश्मीमा । अनु जानु भन्दा अगाडी हामीले सानो ग्यादरिंग
राख्यौ बिदाईको । केहि नेपाली साथीहरु अनि र जोसेफ अनि उस्को बहिनी र ज्वाईं पनि बोलाईएका थिए । लगभग १२ बजे सम्म रमाइलो गरेर बस्यौ हामी । मध्य
रात पछि साथीहरु पातलिंदै गए । एप्पीले पनि बिदा लिईन् । अब हामी तीन र
जोसेफ थियौ । सामान्य गफगाफ चल्दै थियो | रश्मीले अनुको अमेरिकामा
भएको साथीको कुरा सुरु गरिन् जो संग निकट भविष्यमा अनु बिहे गर्दै थिइन् ।
त्यस पछी प्रेम,प्रेमी प्रेमिकाको
कुरा हुन् थाल्यो ।
“म पनि तिम्रो साथीलाई
माया गर्छु “ कुरा गर्दा गर्दै
अचानक जोसेफले रश्मिलाई हेर्दै भन्यो । उसको आँखाको इशारा म तिर नै थियो ।
“को भन्ने मलाई
थाहा छ “अनु लगभग चिच्याउदै भन्दै
थिई ।
“रोजिना “भन्न किन डराएको होला “रश्मीको उस्तै झटारिलो बोली ।
“हाहाहा” गर्दै अनु र रश्मीको संयुक्त हाँसो ।
‘ हो गाईज, “रोज “ तर रोज मलाई माया गर्दिन भन्ने मलाई थाहा छ “
अच्चमको कसिलो बोलीमा जोसेफले स्वीकार गर्यो ।
उसको गहिरो नज़र त्यस समय मै माथि थियो ।
“ जोसेफ तिम्रो
आँखाहरु नीला छन् र म नीलो आँखा हुने मान्छेलाई विश्वास गर्न सक्दिन ।
प्रेम त हुदै हुँदैन । उनीहरु धोकेबाज हुन्छन भन्ने सुनेको छु “ मैले कुरा सामान्य नै रहोस भन्ने हिसाबले
जोसेफलाइ जबर्दस्ती जिस्काएकै झैं गरी भने ।
“कसले भन्यो?
के तिमीलाई त्यो विश्वास लाग्छ ? म तिमीलाई केहि भन्दिन तर एक पटक मेरो आँखामा
हेरेर भन त म धोकेबाज छु या हुन् सक्छु ? “ऊ मेरो एकदम नजिक दुवै
आँखाले मेरो आँखामा हेर्दै भन्यो । म चुपचाप उसको आँखामा हेर्न थाले । उफ्फ्फ़ ! ती गहिरा नीला आँखा समुन्द्र भन्दा कम थिएनन् । त्यहाँ झुठ,
फरेब ,धोका, मक्करी के होस् ,स्वच्छ निश्छल ती आँखाभित्र अथाह माया बाहेक
केहि केहि थिएन । म त्यहाँ डुब्दै गरेको महसुस हुन थाल्यो आफैलाई । यसरी कसैको
आँखा पनि पढ्न सकिदो रहेछ । मलाइ छटपटी भयो र मैले आफ्नो नज़र उसको आँखा बाट हटाए ।
“मलाई प्रेममा
विश्वास छैन” यती बाहेक बोल्न
केहि सकिन । बर्षौ बिते,हामी चार मध्ये
दुई यहि परदेश सिच्दै छौ तर संगै छैनौ । रश्मिले यहि बिहे गरिन र अर्को शहरमा छन्
। प्राय बिदा या चाड पर्व पर्दा भेट हुन्छ । अन्यथा फोनको र इमेलको माध्यम बाट
जोडिएकै छौ । संसार धेरै सानो बनाई दिएको छ आजको संचार प्रगतीले । म एक्लो भए पछी
फेरी नयाँ बथान खोज्नु नै पर्ने भयो साथीहरुको त्यसैले जोसेफको बस्ती देखि ४
घन्टाको दुरीमा आफ्नो गुड लगाएको पनि चार बर्ष हुन् थाल्यो । ऊ उस्तै छ ,मलाई माया गर्छु
भन्ने मान्छे यी दिनहरुमा एक फोन पनि गर्दैन तर उसकी बहिनीले सम्पर्क गर्न
छाडेकी छैनन् । कुनै पनि चाड होस् या बिहे या सामान्य ग्यादरिंग निम्तो गर्न
भुल्दिनन् । म पनि एप्पिसंग
नै दोहोरो सम्पर्क राखेर खुशी छु ।
“तिमी त मलाई खुब
माया गर्छु भन्ने मान्छे,यति बर्षमा एक
पटक फोन गर्न पनि सकेनौ “ गएको बर्ष
उनीहरुकै एक बिहेमा सरिक हुँदा जोसेफ संग मैले सामान्य मैत्रीय गुनासो जस्तै गरे ।
“तिमीले पनि त
गर्न सक्थ्यौ, गर्यौ ? म अझै पनि माया गर्छु तर तिमी गर्दिनौ । तिम्रो
बारेमा जानकारी पाएकै हुन्छु । तिमी कहाँ छौ ? के गर्दै छौ ? कहिले मलाई भेट्न आउदै छौ ययावत सबै कुरा “ऊ मुसुक्क हाँसेको
थियो । जीवन अनि यो प्रेम कस्तो
अनौठो लाग्छ आज मलाई । मलाई चाहनेलाई मैले प्रेम गर्न नसक्नु , मेरो चाहत ,मेरो प्रेमले मलाई बुझ्न नसक्नु अर्थात् मैले जसलाई चाहे उसलाई पाउँन नसक्नु र मलाई
निस्वार्थ चाहनेलाई मैले बुझ्न/माया गर्न नसक्नु को पिडा मलाई भन्दा अरुलाई थाहा
कसरि हुन् सक्छ, कस्तो यो
बिडम्बना जिन्दगीको । यी उतार चढावहरुलाई मैले अती नै गहिरिएर अध्ययन गरेकै हुँ । समयले मलाई गतिलो बिषय बस्तु दिएकै हो । हामी समयका प्यादाहरु उसैको चाल अनि
अनि बहावमा छौ ।
No comments:
Post a Comment