Wednesday, January 15, 2014

दृश्यहरु

म उभ्भिएको ठाउँबाट देखिने
मटमैलो गगनको एक टुक्रा
हल्का निलो रङ्ग को धर्ति
पर पर पुग्दा अझै गहिरो रङ्ग
जिन्दगीको पुरै अर्थ दिन सक्छन /
दिने सामर्थ्य राख्छन यी दृश्यहरु ।

यी निला रङ्गहरु आफु भित्र
कस्ता कस्ता रहस्य राख्दा हुन्
यसको अन्दाज कसलाई होला ?
जहाँ जिन्दगीको कुनै नाम छैन
आँगन छैन ,घर छैन , न कुनै भित्ताहरु नै छन  ।


कहिले चिसो देखिने ,कहिले न्यानो
मौषम बिपरित
यी दृश्यहरु
कसैको प्रेममा बिरक्तिएर
हर रात निद धितो राखी
एक्लो सपना पुरा गर्न निस्कन्छ ।

मैले आफ्नै मुहार बिर्सेको छु
अस्तित्व हराएको छु
गाउँको बाटो भुलेको छु
देशको नक्शा सम्झने प्रयासमा  ।

मेरो प्रेम
एक मुठ्ठी भोक
एक पत्र नाङ्गता छोप्नमा समर्पित भएको छ
मेरो नजरले भ्याउने सम्मको दृश्य
निलो आकाश मैलिएको छ
मैले आफुलाई सम्झनु भूल भएको  दृश्यमा  ।

No comments:

Post a Comment