Thursday, November 5, 2015

जिद्दी धून

निद
तिमीलाई भरपूर नीदको खाँचो छ
यो नेपथ्यको आवाज हो
आई रहन्छ ,म सुन्दिन
उसलाई समर्पित अनिद्रामा मलाई
खाँचो छ पुरानो धूनको
धून एउटा जिद्दी धून
झरीमा रुझेर रात सक्ने
एक निमेष रातमा एक युग सक्ने ।

स्मृतीहरु नदि हुन
जहाँ स्पर्शको मनतातो बाफ निस्की रहन्छ
रुझाई रहन्छ र मनको पीडाहरुलाई पखाल्छ
अविरल बगी रहने ,खोंच खोंचमा बग्ने र
खलबलाउने निदहरुलाई
अनौठो जिद्दी धून
स्मृतीमा रात सक्ने
एक चिम्टी रातमा एक युग सक्ने ।


छन् त स्मृतीका आख्यानहरु छन्
जहाँ हरेक प्याराग्राफमा छन् केहि औंलाका निशानहरु
अँध्यारो ,उज्यालो केहि छापहरुमा
देखिन्छन मुद्धाहरु मेरो प्रेमको
भ्वाईलिन र सारङ्गीको धूनमा
सोचहरु नाङ्गा छैनन्
जहाँ प्रेमले करारहरु पेस गरोस
करारहरु जहाँ केहि लेखियोस मेटियोस
यसरि स्मृती स्पर्शले ब्युँताउने रातहरुमा
एउटा मिठो जिद .. जिद्दी धून
रात सक्ने ..रातसंगै स्फुर्त जीवन सक्ने
एक अँगालो स्मृतीमा रात सक्ने
एक निमेष रातमा एक युग सक्ने ।

No comments:

Post a Comment