Thursday, December 12, 2013

म प्रेममा छु सदैव

ती नजरको साहारामा देखेका
सपनाहरु डर लाग्दा कतई थिएनन्
रङ्गहरुमा रङ्ग भिजेर पोतिएको
कुनै पोख्त चित्रकारको क्यानभासमा रहेको
बहुमुल्य चित्र झैँ
ती सपनाहरुको रातलाई थामेर राख्न सकिएन
हो यस्तै गुनासाहरु लिएर उभिन्छ मेरो मन मेरो सामु
फेरी
ती रातमा लुथ्रुक्क रुझेको मेरो आँचलमा
कसैले शितको सुगन्ध खोजे
कसैले जुनको उज्यालो छामे
तर त्यो तिम्रो प्रितले रुझेको मृदु अनि स्निग्ध
मुस्कानमा मेरो तृप्ति प्रष्ट छ अझै ।


यहाँ अनुरागको के अर्थ छ र
पारिजातको सुगन्ध बयान गर्नुको अर्थ के छ र
परागहरुको जिन्दगी खोज्नु को अर्थ के छ र
सारा सारा एक काब्य हुन् प्रेमका
कुनै अन्तर छैन यी पथहरुमा
म एक्लै हिडी रहू या
तिम्रा यादहरुले पग्लिएका साँझ बाँचु
म प्रेममा छु सदैव ।

बादल बर्सिन्छन/बर्सिनेछन
शरद ,ग्रीष्म शिशिर ऋतुहरु
रङ्गीन कतै कठयाँग्रिुएका मौसमि रात दिनहरु संगै
एकै अनुभूति
मेरो स्मृतीमा एकै तारिक अमुर्त छ /अदिप्त छ
रही रहनेछ युगान्तर सम्म
यहि शब्दहरु नजिर बन्दै मेरो जिन्दगीको
"फेरी तारिक बदलिएछ जिन्दगीका पानाहरुमा
म उही मोडमा छु जहाँ तिमीलाई भेटेको थिएँ ।"

No comments:

Post a Comment