Saturday, September 28, 2013

यादहरु

एकान्तको मन्त्र मुग्ध संगीत
दुर दुर सम्म फैलिएको मौनता गगनको
हलुङ्गा छालहरु समुन्द्रको छातीमा
सारा दृश्यको साक्षी बतास
बयली खेल्दै मलाई छुन आउँछ
तिम्रा यादहरु लिएर  ।


यहाँ अहिले
जैतुन फुल्नु पुर्वको  गन्ध मौषम भरी छरिएको छ
म देउरालीको पाखे पाटो
त्यहि फुल्ने जंगली फूलहरुको मुस्कान सम्झन्छु
अब जब
सडकका किनारमा सयपत्री फक्रिन थाले पछी
बिहानीको चिसो सिरेटोले
धुमिल धुमिल आकृतीमा
दशैको आभास ल्याउँछ
फेरी एकान्तकै संगीतमा
तिम्रा यादहरु चहराउन थाल्छन
ए प्रिय माटो भन न
किन आउँछ तिम्रो याद लिएर यो मौसम
मेरो एकान्त खलबलाउन  ?


मैले यादहरु मेरै आँगनमा पुरी आएको बर्षौ भयो
त्यो चिहान उस्तै होला आज पनि तर
यादहरु म सम्म आई पुग्छन कसै गरी
यहि सुमधुर मौसम संगै
सयपत्री फुलेको माटो सुगन्धमा
प्रियजनको सन्देश मुछेर
अनि
थाकेर चुर हुन्छ मेरो चेतना /अनुभूती
एकान्तमा  ।

फेरी उही प्रश्न
भन न
किन आउँछ यती धेरै तिम्रो याद
यो मौसममा
मलाई सताउन ?

No comments:

Post a Comment