दसैंछेक लखपति भएकै हुन्, राजन मुकारुङ । त्यसको एक महिना नबित्दै फूलको थुँगाजस्तै भइसकेछन् । 'दमिनी भीर' उपन्यासमा मदन पुरस्कारस्वरूप थापेको नगद दुई लाख जमघट, चाडबाड र घुमघाममा सकिएछ ।
त्यसो त 'हेत्छाकुप्पा' उपन्यासका लागि केही वर्षअगावै दुई लाख पाँच हजारको थैली बुझिसकेका रहेछन् उनले । फरक के भने, त्यतिबेला उनको फुर्मासी स्वभाव चिनेका शुभेच्छुकले बैंक ब्यालेन्स गरिदिएछन् र त्यो धनराशि उनले विदेश जानेलाई दिएछन् । एक-डेढ वर्षपछि फिर्ता लिएछन् ।
झन्डै १२ वर्ष कुनै सरकारी, गैरसरकारी कम्पनीको तलब नथापेका यी युवा लेखकलाई पुरस्कारको रकम उस्तो भारी लाग्दैन । बरु त्यसले समाजमा पार्ने प्रभाव अनि बजारमा पाठकको खोजी महत्त्वपूर्ण लाग्छ ।
उनकै मदन पुरस्कार विजेता उपन्यास 'दमिनी भीर' २० हजार थान बिक्री भइसकेको बताइरहेका छन्, प्रकाशक । भलै त्यसबापत पाएको रोयल्टीबारे भने राजनले मुख खोलेका छैनन् । साँच्चै नेपाली साहित्यको बजार शिखरमा पुगेकै हो ? पूर्णकालीन लेखक भएर बाँच्न सक्ने स्थिति छ या त्यस्तो खबरमा विश्वसनीयता कति छ ?
उनकै मदन पुरस्कार विजेता उपन्यास 'दमिनी भीर' २० हजार थान बिक्री भइसकेको बताइरहेका छन्, प्रकाशक । भलै त्यसबापत पाएको रोयल्टीबारे भने राजनले मुख खोलेका छैनन् । साँच्चै नेपाली साहित्यको बजार शिखरमा पुगेकै हो ? पूर्णकालीन लेखक भएर बाँच्न सक्ने स्थिति छ या त्यस्तो खबरमा विश्वसनीयता कति छ ?
नेपाली साहित्यका लागि सुपर बम्परजस्तो लाग्ने यो खबर लेखक र प्रकाशकहरू नै पत्याउन तयार छैनन् । 'एउटै उपन्यास ३० हजार थान बिक्री भएको हो भने त्यसलाई बाइबल भने हुन्छ, हरेक पाठकको हातहातमा देखिनुपर्ने,' रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठ भन्छन्, 'मेरो अनुभवमा त वर्षमा हजार थान बिक्नु पनि बम्पर हो । हाम्रा बेस्टसेलर तिनै हुन् ।'
गोविन्द त के पनि भन्छन् भने, कुनै दिन तिनलाई अहिलेको बधाई स्विकार्न पनि सकस हुन सक्छ । तिनलाई कुनै दिन सरकारले अंकुश लगाउन सक्छ । हिसाब बुझाउन जानुपरेको दिन तिनको अनुहार पक्कै हेर्नलायक हुनेछ ।
मदन पुरस्कार पाएको पुस्तक कम्तीमा १० हजार बिक्री हुने अनुमान गर्छन् साहित्यिक पण्डितहरू । तर, पुरस्कार पाएकै कारण पुस्तकको बिक्री बढेको मान्ने हो भने यस्ता थुपै्र पुस्तक साझा प्रकाशनको गोदाममा थन्किएका छन् । पुरस्कार पाएको दशकौं बित्दा पनि शंकर लामिछानेको निबन्धसंग्रह 'एब्स्ट्रयाक्ट चिन्तन प्याज', इन्द्रबहादुर राईको 'आज रमिता छ' र सरुभक्तको 'पागल बस्ती', मनु ब्राजाकीको 'तिम्री स्वास्नी र म' को बिक्रीले १० हजारको इतिहास बनाउन पाएनन् ।
'पछिल्लो समय साहित्यतर्फ पुरस्कार बढेका छन्, प्रकाशक बढेका छन्, लेखक बढेका छन्, तर त्यो अनुपातमा पाठक बढेनन्,' गोविन्द सुनाउँछन्, 'पाठक बढेको भए त पुराना लेखकको पनि खोजी हुनुपर्ने हो । पाठक त नयाँमात्रै पढ्दैनन् ।'
कतिपय पुस्तकले बिक्रीमा रेकर्ड बनाएका पनि छन् । 'प्रयोगशाला', 'चक्रव्यूहमा चन्द्र सूर्य', 'ओपन सेक्रेट', 'विनोद चौधरी', 'चिना हराएको मान्छे', 'छापामार युवतीको डायरी', 'फूलको आँखामा', 'रक्तकुण्ड', 'परिबन्दका १५ वर्ष' आदिलाई साहित्य मान्ने कि नमान्ने ?
छद्म बिक्री प्रकरणको मजाक उडाएको छ 'खेलौना'ले । 'सबैभन्दा त कोकशास्त्र बिक्छ, के कोकशास्त्र राम्रो साहित्य हो ?' अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मा सोध्छन्, 'बिक्री राम्रो साहित्यको मापदण्ड होइन । राम्राभन्दा नराम्रै बढी बिक्छन् ।'
पुस्तक बिक्री हुनु पक्कै राम्रो हो । तर, त्यसलाई आधार मानेर गहकिलो साहित्य फस्टाएको मान्न भने कठिन छ । 'श्रीमदभागवत्, गीता या महाभारतको बिक्री भयो भन्दैमा पाठक बढेको भन्न मिल्दैन,' गोविन्द थप्छन्, 'कतिपय पुस्तक त पढ्नलाई भन्दा दान दिन या पूजाकोठामा राख्न किन्ने धेरै हुन्छन् ।
हामीकहाँ कतिसम्म अफवाह छ भन्ने उदाहरण हङकङे लाहुरे रामकृष्ण बान्तवा नै छन् । उनको उपन्यास 'सघन तुवाँलो' १८ हजार बिक्री भएको प्रचार गर्ने प्रकाशक, एमए नेपालीको पाठ्यक्रममा परेको भनेर भ्रम फैलाउने त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक, अखबारी समीक्षकहरू बदनाम मात्र भएनन्, झन्डै अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउनु परेन २०६७ सालमा ।
हल्लाहरूलाई छाडिदिने हो भने पनि गुणवत्ताका हिसाबले नेपाली साहित्य सबभन्दा कमजोर स्थितिमा छ । दिनैपिच्छे दुई, तीनवटा पुस्तक विमोचन हुने मुलुकमा वर्षमा मनले खाएका दुई, तीनवटा स्तरीय कृति नपाउनु त्यसकै दृष्टान्त हो । यहाँ आफ्नो बाटो आफैं बनाउने सर्जकभन्दा अरूले बनाएको बाटो हिँड्ने शिल्पीहरू सक्रिय छन् ।
नेपाली कस्ता शिल्पी भने गार्मेन्ट चल्यो, सबै गार्मेन्ट खोल्छन् । बोर्डिङ खोल्यो, त्यसैलाई पछ्याउँछन्, सहकारी आयो, त्यसमै लाग्छन् । पुस्तक प्रकाशक बन्ने र उपन्यास लेख्ने लहड त्यस्तै एउटा सिलसिला हो । अर्को अर्थमा यसलाई 'कमेडी अफ लिटरेचर' भने हुन्छ ।
नाम चलेका लेखकले यति रद्दी कसरी लेख्न सकेका होलान् भनेर 'अभिव्यक्ति'का सम्पादक नगेन्द्र कहिलेकाहीँ छक्क पर्दा रहेछन् । 'पहिले कागज र छपाइ कमसल हुन्थ्यो, किताब अब्बल हुन्थ्यो,' उनी भन्छन्, 'अहिले किताब कमसल हुन्छ, कागज र छपाइ अब्बल ।'
निश्चय पनि निजी क्षेत्रका प्रकाशकहरूले पुस्तकलाई सजाउन कुनै कसर बाँकी राखेका छैनन् । पुस्तकको कागज, साजसज्जा र मुद्रण उम्दा छ । तिनले थुप्रै लेखकलाई प्लेटर्फम दिएका छन् । धेरै लेखक आउँदा पाठकलाई छनोटको अवसर पनि छ ।
भारतकै कागज, भारतकै छपाइ र भारतमै गाता हालेर पस्केका छन् प्रकाशकहरूले । तर, त्यसमा पनि पाठकको खल्ती हेरिए जस्तो लाग्दैन । गेटअप राम्रो बनाउँदा लागत त्यत्तिकै बढ्छ । पुस्तकको प्रसाद गुण भनेकै पठनीयता हो । तर, यही मीठास नभएको पुस्तक जतिसुकै चिल्लो कागजमा छापिनुको औचित्य रहँदैन ।
यहाँ एकातिर पाठकीय रुचि निर्माणको प्रयत्न भएको छैन भने अर्कातिर विशिष्ट शैली लिएर आएका पुस्तक पाउन गाह्रो छ । लेखकहरू बिकाउ साहित्यतिर बहकिँदै गएका छन् । 'राम्रा राम्रा कविहरूसमेत उपन्यास लेख्ने होडबाजीमा लाग्नु विडम्बना हो,' कवि एवं समालोचक युयुत्सु आरडी शर्मा भन्छन्, 'नेपालीमा आख्यानको सापेक्षमा कविता नै समृद्ध छ ।'
हुन पनि कविता पूर्वीय विधा हो । गीता, वेद, रामायण आदि पूर्वीय ग्रन्थहरू कवितामै लेखिएका छन् । नेपाली कवितामा मौलिक स्वर छ । विविधता पनि छ । गाउँगाउँदेखिको शक्ति छ । तर, समस्या के भने, अधिकांश कविता राजनीतिक छन् । अतिभावुकताको सिकार भएका छन् कविहरू । भद्दा गाली, निन्दा, आलोचना या व्यंग्यमा खुम्चिएका छन् कविता । तैपनि केही छ भने कवितामै छ ।
पक्कै उपन्यास लेखक बढेका छन् । झुर उपन्यास चर्चित र पुरस्कृत हुने क्रम पनि चलेकै छ । आख्यानले समाजको जरा समातेको छैन । धेरैजसो उपन्यासको बनोट नै कृत्रिम र कमजोर छ । उपन्यासको कुनै पात्र लोकपि्रय छैन । कुनै पात्र जीवन्त छैन । जनमानसमा कुनै पात्र पात्र चर्चित र कालजयी भएका छैनन् ।
कतिपय लेखकले त प्रयोगका नाममा यात्रा विवरण, न्युज रिपोर्ट, डायरी वा संस्मरणलाई नै उपन्यास भनिदिएका छन् । पश्चिमा साहित्यमै मुस्किल भनिएको विधालाई यहाँ दाल, भात खाएजस्तो वा गीतगजल लेखिएजस्तो सस्तो बनाइएको छ । 'लेखकहरू अंग्रेजी पढ्दैनन् । अंग्रेजी राम्ररी बुझ्दैनन् पनि । यहाँ पढिने भनेको अनुवाद हो, त्यो पनि शीतयुद्धताका अनुवाद गराएर पठाइएका रुसी साहित्य,' युयुत्सु भन्छन्, 'नेपाली आख्यानको दुर्दशा के भने लेखकहरू त्यही पुरानो रुसी फर्मुलाको सुगा रटाइभन्दा माथि उठ्न सकेनन् ।'
रुसी साहित्यको तुलनामा अंग्रेजी साहित्यको अनुवाद नै हुन सकेको छैन । 'एकजना प्रतिष्ठित लेखकले अस्कर वाइल्ड त गे रहेछन् भन्दा म अवाक् भएँ,' युयुत्सु भन्छन्, 'यति धेरै अनभिज्ञता छ कि कुनै दिन पारिजात त माओवादी रहिछन् भनिदिन सक्छन् ।'
प्रकाशकहरू गैरआख्यानको खोजीमा छन् । आत्मवृत्तान्त, संस्मरणका पुस्तक त्यसकै प्रमाण हुन् । तर, लेखक र पाठक दुवै 'ओभर सेन्टिमेन्टल' भएको स्थिति छ । सजिलै बुझिने भाषा पाठकको अर्को खोजी हो । पत्रकार, कलाकार, व्यापारीहरूको पुस्तक बिक्रीको कारण त्यही हुन सक्छ ।
पछिल्लो चार वर्षमा बालसाहित्यका आठ सय टाइटलका पुस्तक निस्केछन् । पठन संस्कृतिको जग बसाल्ने यसले मदत पुर्याउँछ नै । बौद्धिक खुराक भनेको अम्मलजस्तै हो । लत नबसेपछि कसले पुस्तक किन्ने ? खड्किएको कुरा किशोर साहित्य नै छैन । किशोर पुस्ताका निम्ति लेख्ने लेखक पनि देखिँदैनन् । तर, पढ्ने पुस्ता नै त्यही हो । पछिल्लो समय प्रहरीको मापसे कारबाहीले पनि पठन संस्कृतिमा बल पुर्याएको तर्क गर्छन् कतिपय । बेलैमा घर पुगेपछि टेलिभिजन हेर्न बत्ती छैन । अनि किताब पल्टाउने चलन बढ्दै छ । क्यान्डिल-रिडिङ कति छ ? त्यसको लेखाजोखा भोलिका दिनमा होला । स्वस्थ आलोचनाको परम्परासमेत बस्न सकेको छैन । प्रकाशक, लेखक र समीक्षकले सिन्डिकेट नै चलाएको स्थिति छ । के लेख्यो भन्दा पनि कसले लेख्यो भन्ने कुराले महत्त्व पाएको छ । समीक्षकको बर्दीमा कि निःशुल्क विज्ञापन लखिएको छ कि त संकीर्णतावश बुल्डोजर चलाइएको छ । यस्तो पाखण्डमा कसैको उचाइ घट्नु र बढ्नुको कुनै अर्थ छैन ।
त्यसो त पुरस्कार वा बिक्री नै राम्रा साहित्यका मानक हुन सक्दैनन् । विडम्बना के भने एकाधबाहेक अधिकांश पुरस्कारदाता मगन्तेजस्ता छन् । पुरस्कारलाई लेनदेन सम्झन्छन् उनीहरू । कसैले पार्टीको बफादार भएकामा पाउँछन् त कसैले लिंग, क्षेत्र, जाति वा भाषाका आधारमा ।
न्युयोर्क युनिभर्सिटीका भिजिटिङ पोएटसमेत रहेका युयुत्सु विश्व साहित्य र नेपाली साहित्यबीच र्याङठ्याङ देख्दैनन् । बाहिर आख्यानको ठाउँ कविताले लिएको छ, यहाँ आख्यान सबभन्दा चल्तीमा छ । बाहिर इ-बुकका कारण पुस्तकको बिक्री ठप्प छ, यहाँ पुस्तक प्रकाशक बढेका छन् । बाहिर पुस्तक विमोचनै गर्दैनन्, भए पनि सुटुक्क हुन्छ, यहाँ सबभन्दा तामझाम र हल्ला पुस्तक विमोचनकै छ ।
बाहिर उत्तरआधुनिकताको उच्चारण हुन छाडिसक्यो, यहाँ कतिपय प्रा.डा.ले त्यसकै कसम खाएर बसेका छन् । अरूको कुरा छाडौं, भारतमै हिन्दी साहित्यको बिक्री गए-गुज्रेको छ । अंग्रेजीको विशाल पाठकपंक्ति भएकाले पश्चिमा प्रकाशकहरू भारतमै ओइरिएका छन् । 'युरोप, अमेरिकाको नक्कल भारतमा हुन्छ । अहिले त्यसको नक्कल यहाँ भइरहेको छ । यो तेस्रो दर्जाको नक्कल हो,' युयुत्सु भन्छन्, 'साहित्य लेडी गागा होइन, लाइफ अफ पाईजस्तो हो ।'
(कान्तिपुर कोसेली अंक मङ्सिर १ गते बाट साभार )
No comments:
Post a Comment