हिजो देखि भित्रभित्रै उकुस मुकुस भै रहेको थियो त्यसैले मन शान्त होस भनेर नै सुनसान सडक एक्लै नाप्न निस्कन्छु । समुन्द्री सिरेटोले यो तनलाई शितल त गराउदै छ तर म भित्रको ज्वालालाई अझै उग्र पनि बनाउदै छ । म जती जती सोच्दिन भन्दछु त्यहि नै ती छविहरु मन मस्तिष्कमा फैलिदो छ । उ म संग भएर पनि छैन र नहुनु को अर्थमा म उसलाई मेरो जिन्दगीमा सामिल गर्दिन पनि हैंन । थाहा छैन कहाँ छ त्यो संसार जुन मेरो सोच भित्र छ । छ कि छैन ?। यस्तै यस्तै अन्यौलको यो यात्री सधै एक रुमानी कल्पनामै जीवन खोज्दै भौतारिन्छ । म साँच्चै नै मानसिक रोगी हु त ? यस्ता प्रश्न पनि नउठेका हैनन् यो दिमागमा । जवाब कसले दिने मलाई ? डाक्टर भन्दा अर्को को हुन् सक्छ र यो सम्झाउने मलाई त्यसैले क्लिनिकको ढोका पनि ढकढकाउन पुगे । तर त्यो मेरो सन्तुष्टि हुन् सकेन । मेरा सारा रिपोर्टहरु नर्मल देखिए । यदि म नर्मल हुन्थे भने यो तड़प किन छ म भित्र ? के चाहन्छु म ? यो असन्तुष्टी के र कसका लागी हो ? साथी , नाम , दाम,काम , घर परिवार , आफन्त ? कदापी हैन । अनौठो आवाज संगै समुन्द्री छाल मलाई मेरो सोचका तरंगबाट ब्युँताउन सफल हुन्छ । एकछिनको टोलाई पछी फेरी उही सोचका गर्तहरुमा डुबुल्की खेल्न पुग्छ मेरो अनियन्त्रित सोच ।