दसैंछेक लखपति भएकै हुन्, राजन मुकारुङ । त्यसको एक महिना नबित्दै फूलको थुँगाजस्तै भइसकेछन् । 'दमिनी भीर' उपन्यासमा मदन पुरस्कारस्वरूप थापेको नगद दुई लाख जमघट, चाडबाड र घुमघाममा सकिएछ ।
त्यसो त 'हेत्छाकुप्पा' उपन्यासका लागि केही वर्षअगावै दुई लाख पाँच हजारको थैली बुझिसकेका रहेछन् उनले । फरक के भने, त्यतिबेला उनको फुर्मासी स्वभाव चिनेका शुभेच्छुकले बैंक ब्यालेन्स गरिदिएछन् र त्यो धनराशि उनले विदेश जानेलाई दिएछन् । एक-डेढ वर्षपछि फिर्ता लिएछन् ।
झन्डै १२ वर्ष कुनै सरकारी, गैरसरकारी कम्पनीको तलब नथापेका यी युवा लेखकलाई पुरस्कारको रकम उस्तो भारी लाग्दैन । बरु त्यसले समाजमा पार्ने प्रभाव अनि बजारमा पाठकको खोजी महत्त्वपूर्ण लाग्छ ।