Monday, October 28, 2013

जिउँदो आभाष

एउटा कोठा
जहाँ नाँच्दैछ सियासत स्वतन्त्र
सत्ताधारीको इशारामा ।

पश्चिमको घनस्या टेक्दा पाईतालाहरु फुट्दैन
पूर्वको ओखाल्ढुङ्गा मुसुक्क मुस्काउँछ गरिबीमा
उत्तरको मुस्ताङ्गलाई कालज्वरोले छोपेको छ
दक्षिणलाई आफ्नै स्वाभिमान बिझाँउदा
संसद भवनमा मधुर धुन सिक्काको गुन्जिन्छ ।


शान्ती क्षेत्रको छातीमा
एक एक जिल्ला,अंचल,क्षेत्रका प्रतिनिधि
मनोनित नामहरु
देहको भूगोल फैलाएर
खुलेआम संविधानको नाम लिदै
स्वतन्त्रताको  इज्जत लुट्दै छन ।

स्वतन्त्रता लुटिएर
रक्ताम्य नाङ्गै सडक किनार लड्दा
लुटेराहरु जिन्दगीको फेहरिस्त तयार पार्न व्यस्त हुन्छन  ।

घाईते स्वतन्त्रतालाई बहुपासमा लिई
म आदेश जारी गर्छु
 ए दिशाहरू ! अब त जाग ,उठ, आउ
यहाँ समय फेरी बन्दी बनाईनु हुन्न/बनाउन दिनु हुन्न
त्यसैले
आँखामा स्वाभिमानको तेज सहित
नारा बोलौं
खबरदार
यहाँ स्वतन्त्रता जिउँदै छ अझै
हाम्रो स्वाभिमान मरेको छैन  ।

No comments:

Post a Comment