Wednesday, May 9, 2012

म भाग्छु र भाग्दै छु

निर्मला खड्का 



म भाग्छु र भाग्दै छु
किनकि
भोकाएका चिलहरुले
खोल्सा तिर फालिएका मृत लाश हेर्दै
एक अर्कालाई झम्टे झैँ
आफ्नैको जिउदो लाश लिएर
दन्दनी दन्केको आगोको मुस्लो वरिपरी उफ्रिने
तिनै रक्तपिपाशुहरुको नाङ्गो नाच
म हेर्न सक्दिन ।

म भाग्छु र भाग्दै छु
किनकि
आफ्नै रगतको मुल्य तोकेर
फक्रदै गरेका मुनाहरु कुल्चिने
अतृप्त लालशामा
आफ्नै अंशको गला रेट्दै
आफ्नै चेलीको बेचबिखन गर्न
लिलामी बजार भित्र पस्ने
यी पापीहरूको बस्तीमा
म बस्न सक्दिन  ।

म भाग्छु र भाग्दै छु
किनकी
चारैतिरको मानविय भिडबाट
दुवै हात फैलाएर
कुनै दैत्य झैँ दाह्रा किट्दै
जो कोहीलाई पनि आफ्नो निर्दयी पन्जामा पार्न तम्तयार
ती अतृप्त यौन तृष्णा
आँखाभरी राखेर अगाडी बढ्ने  मानव
तिम्रो दुष्ट अनियतिको अंगालोमा
म बाधिन सक्दिन ।

र त
यो साँसारिक भिडहरू छिचोल्दै
सबै माया मोह त्याग गरिएको
कुनै सत्ययुगको दन्ते कथामा लेखिएका
स्वर्णिम युगको सपना बुन्दै
पुनः नयाँ संरचनाको सँसार रच्न
साँच्चै म भाग्दैछु
र, वास्तवमै म भाग्दैछु ।


No comments:

Post a Comment