Wednesday, May 23, 2012

मृत्यु एक यथार्थ





मृत्यु
तिम्रो रहस्मय आगमनको खबरले
तिमीलाई महसुस गर्ने मेरो चाह उछालियो
तिम्रो पदचापको सरसराहट अनि
तिम्रो सुरिलो स्वरमा मृत्यु धुन सुन्न
म र मेरा कानहरु चनाखो भै
प्रतीक्षा मा थियौ
तिमि आयौ, बिस्तारै बिस्तारै
मेरो नजिक, धेरै नजिकै
आएर शायद मलाई छोएर
मेरो मन मस्तिष्क हुदै गयौ, उनि छेउ
उनको तनमा तिम्रो मधुर स्पर्श
अति सुलभ र सौम्य नै हुनु पर्छ
त्यसैले त 
तिम्रो स्पर्श पछीको नौलो उन्माद
उनको आँखामा प्रष्ट देखिन्थियो
उनको हर साँसमा जीवनको धुन
फेरी तरंगीत बनाउदै
उनको जीवन प्रवाहलाइ
कुनै नयाँ किनारमा बाँध्न
तिमीले सुनाएको मृत्यु संगीतले
उनको अधरको मुस्कान झन् गहिरियो
तर तिम्रो समिप्यातामा
कुनै डर लागेन मलाई
किनकि
मृत्यु, तिमी कुनै डर नभएर
एउटा यथार्थ थियौ मेरो लागि l


एउटा सुमधुर बिहानको त्यो चित्र
एउटा चित्र सुर्य अस्तको पनि
दुवै पलहरुमा क्षितिज भरि
छरिएको सुर्य किरणको लाली
एक पलमा धुपिलो र धुमिलो रंग फेर्दै
अर्को पलमा
कुनै जंगली रुखहरुको कालो छाँया परे झैँ
एकै तानमा लस्करै रहेका पंक्षीहरुको
बिरही गीत, तिनकै संगीत
रंगीबिरंगी जंगली फूलहरु को
मधुर तर जहरीलो गन्ध
चारै तिर फैलिएको जस्तो
अनि
सुनसान, एक किसिमको चिसो मौनता
एक किसिमको आवेग भनु या आवेश
बिस्तारै बन्द हुदै छन उनका आँखा तर
खुलेको छ सांस फेरी
अस्पष्ट ढुकढुकी,
बदलिन्छ रंगहरु मुहारमा
धोएर, पखालेर निचोरे झैँ उनको अनुहार
बाहिर अनि भित्र पनि
कति अदम्य साहसहरु उठेर अनि छुटे जस्तो
अल्झिएका कतै, कतै साधारण देखिने
ती निधारका रेखाहरु
फेरी अदृश्य जीवनको साहस भरेर
एउटा मिठो अनुभूति दिदै
तिमीले उनलाई बसमा लियौ
त्यसैले त
अर्को नौलो अनन्तको यात्रामा
निस्कदा उनको मुर्झाएको अनुहार
अनौठो चमकले
अचानक धप्पक्कै बलेको थियो
एकछिन पछी उनको जीवनको
आधार बाँधेको " आधुनिक मेशिन" ले
तिम्रो प्रस्थानको सुचना दियो
मैले चारैतिर हेरे, फेरी खोजे तिमीलाई
तिम्रो आगमनको सुगन्ध हावामै बिलीन हुदै हरायो
कहाँ बाट आयौ ?
फेरी चिहाएँ सबै कुना तिर
कोठाको कुन चर् बाट छिरेर गयौ ?
अनुत्तरीत छन  प्रश्नहरु
आउदा एक्लै आयौ,
जाँदा साथीको साथ बोकेर गयौ
म अलमल्ल थिए तर
केहीपल साथ रहेको तिम्रो अनुभवले
मलाई रोमान्चित पारेर गयो
तिम्रो सामिप्यतामा,
तिम्रो साक्षात्कारमा मलाइ कुनै डर लागेन
त्यसैले त
मृत्यु तिमी
कुनै डर नभएर एउटा सत्य हौ ll


२८ नोबेम्बर २०११ को बिहान करिब ९ बजे तिर मैले मृत्युलाई धेरै नजिक बाट अनुभव गरे..मृत्यको आगमनको खबर पछिको केहि मिनट मैले मृत्यु र उनको प्रिय अथिति( जसलाई उनि लिन आएका थिए ) संगै बिताए ..मृत्यु मैले तिमीलाई देख्न नसके ता पनि भित्रै बाट तीमी साथ रहेको पल र तिम्रो सामिप्यलाई महसुर गरे ,तिम्रो अनुभुति पाए..तिमी कुन समय मा आयौ ,कति बेला गयौ मैले प्रत्यक्ष अनुभव गरे......(मेरो इम्प्लोयेरको अन्तिम समयमा उ संगै हुदा महसुस गरेको अनुभुतीलाइ यहाँ एउटा कबिताको रुप दिने मेरो चेस्टा हो यो !

No comments:

Post a Comment