Thursday, May 24, 2012

आँखा



महासागर जस्तै
शान्त देखिन्छन
ती गहिरा नयनहरु
निशब्द लोभ्याउछ्न मलाई
कुनै रोचक
किताब को शिर्षकले झैँ
हतारिन्छु पढ्न ती आँखाहरु
एकहोरो भै हेर्छु
एक आपसमा
गुटमुटीएका विचारहरू


बल्झीएका सोचहरू
बादल बनेर उड्दै
कतै वर्षा को शितलता छर्न चाहने
कतै ज्वालाको रुप धर्ने
पलमा इन्द्रेणी रंग आउदै जाँदै
ती आँखाहरुले
सहनशीलताको
लामो कथा बोल्छ ।


कहिले अबोध बालक को 
निर्दोष चपलता
कहिले बैशले उन्मुक्तचंचलता 
कहिले सबै अवस्था पार गरि

बटुलिएका जीवन अनुभवहरुको
एउटा सिंगो कथा बोल्छ ।


कहिँ बाद कहिँ विवाद
अनगन्ती चरित्रहरु निभाउदै
शुन्यताको च्यादर ओढेर
चुपचाप पिडाहरुको थैलो बोकी
अगाडी पाइला सार्दै
कहिले नज़र उठाएर मुस्काउदै
कहिले झुकाएर
अथाह दुख लुकाउदै
दुवै कुना छचल्किदा
कसिंगर परेको बहानामा
परेली झप्काउने
ती नयनले
जिन्दगीको उतार चढाव को
गहिरो इतिहास बोल्छ ।





निर्मला खड्का 

No comments:

Post a Comment